नेपाल, भारत, बंगलादेशबीच त्रिपक्षीय विद्युत सम्झौता

0
Trilateral electricity agreement between Nepal, India, Bangladesh- The Nepal Times

Trilateral electricity agreement between Nepal, India, Bangladesh Trilateral electricity agreement between Nepal, India, Bangladesh- The Nepal Times

नेपाल, भारत र बंगलादेशबीच बिहीबार सीमामा विद्युत व्यापारलाई सुविधाजनक बनाउनका लागि लामो समयदेखि प्रतिक्षित त्रिपक्षीय सम्झौतामा हस्ताक्षर भएको छ । यो सम्झौता अनुसार नेपालले जुन १५ देखि नोभेम्बर १५ सम्म वर्षायाममा हरेक वर्ष भारतको माध्यमबाट आफ्नो अतिरिक्त विद्युत् बंगलादेश निर्यात गर्नसक्ने अधिकारीहरुले बताएका छन् ।
काठमाडौंमा बिहीबार आयोजित कार्यक्रममा नेपाल, भारत र बंगलादेशबीच ४० मेगावाट बिजुली खरिदबिक्रीसम्बन्धी त्रिपक्षीय सम्झौता भएको हो । नेपाल, भारत र बंगलादेशबीच बिजुली बिक्री गर्न ऐतिहासिक सम्झौता भएसँगै नेपाललाई तेस्रा मुलुकमा बिजुली बेच्ने बाटो पनि खुलेको छ ।


त्रिपक्षीय सम्झौतापत्रमा नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ, भारतको एनटीपीसी विद्युत् व्यापार निगम (एनभीभीएन) का प्रमुख कार्यकारी अधिकृत (सीईओ) रेणु नाराङ र बंगलादेश पावर डेभलपमेन्ट बोर्ड (बीपीडीबी)का अध्यक्ष मोहमद रिजाउल करिमले हस्ताक्षर गरेका हुन्। ऊर्जा, जलस्रोत तथा सिँचाईमन्त्री दीपक खड्का, राज्यमन्त्री पूर्णबहादुर तामाङ र बंगलादेशका अन्तरिम सरकारका वातावरण, वन तथा जलवायु परिवर्तन र जलस्रोतमन्त्री सैयदा रिजवाना हसनको उपस्थितिमा त्रिपक्षीय सम्झौता भएको हो । नेपालले भारतसँग मात्रै विद्युत् व्यापार गर्दै आएकोमा अब बंगलादेश पनि जोडिएको हो ।


नेपालले आफ्नो भूमिबाट बंगलादेशमा विद्युत वितरण गर्न भारतको ट्रान्समिशन लाइन प्रयोग गर्नेछ। पहिलो चरणमा नेपालले भारतीय भूमि हुँदै बंगलादेशमा ४० मेगावाट जलविद्युत निर्यात गर्नेछ । विद्युतको प्रतियुनिट दर ६.४ सेन्ट तोकिएको छ । नेपाल विद्युत् प्राधिकरणका अधिकारीहरूले विद्युत् निर्यातबाट नेपालको वार्षिक करिब ९.२ मिलियन अमेरिकी डलर आम्दानी हुने बताएका छन्।


यसअघि ४० मेगावाट बिजुली खरिदबिक्री गर्न साउन १३ मा सम्झौता हुने भनिएको थियो। तर सम्झौता नहुँदै बंगलादेशमा सरकारविरुद्ध विद्यार्थीको देशव्यापी प्रदर्शन चर्किएपछि तत्कालीन प्रधानमन्त्री शेख हसिनाले राजीनामा दिएर देश छाडेकी थिइन् । त्यसपछि बिजुली खरिदबिक्री सम्झौताबारे अन्योल सिर्जना भएको थियो । तर बंगलादेशको अन्तरिम सरकारका प्रमुख मोहम्मद युनुसले नेपालबाट बिजुली आयात गर्ने प्रक्रियालाई निरन्तरता दिने बताएपछि सम्झौता भएको हो ।


नेपाल र भारतबीचको पहिलो अन्तरदेशीय ढल्केबर–मुजफ्फरपुर ४०० केभी प्रसारण लाइन हुँदै विद्युत् बंगलादेश निर्यात हुनेछ । त्यसका लागि विद्युत्‌को मिटर मुजफ्फरपुरमा रहनेछ । त्यसैले ढल्केबरबाट मुजफ्फरपुरसम्मको प्रसारण लाइनको प्राविधिक चुहावट प्राधिकरणले नै बेहोर्नुपर्नेछ ।


मुजफ्फरपुरबाट भारतको प्रसारण लाइनमार्फत बेहरामपुर (भारत)–भेडामारा (बंगलादेश) ४०० केभी प्रसारण लाइन हुँदै विद्युत् बंगलादेश पुग्नेछ । प्राधिकरणले भारतीय अनुदानमा निर्माण भई आफ्नो स्वामित्वमा रहेको २५ मेगावाटको त्रिशूली र सहायक कम्पनीमार्फत निर्माण गरिएको २२ मेगावाटको चिलिमे जलविद्युत् आयोजनाबाट उत्पादित विद्युत् बंगलादेश निर्यात गर्ने भएको हो । यी दुवै आयोजनाले भारतमा विद्युत् निर्यातका लागि स्वीकृति पाइसकेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *