बेइजिङ वार्ताको मूल बुँदामा बीआरआईको शब्दै परेन, पोखरा विमानस्थल छुट्यो

प्रधानमन्त्री केपी शर्मा ओलीले चिनियाँ समकक्षी ली छ्याङसँग मंगलबार बेइजिङमा गरेको ‘सौहार्द भेटवार्ता’ पछि जुन ९ बुँदे सहमति तथा समझदारीपत्रमा हस्ताक्षर भएको छ, त्यसमा लेखिएका र नलेखिएका बुँदाले धेरै संकेत दिन्छन् ।
चीन मामिला हेर्ने परराष्ट्र मन्त्रालय प्रवक्ता कृष्णप्रसाद ढकालले बेइजिङस्थित ग्रेट हल अफ् द पिपलमा प्रेसलाई दिएको जानकारीको पूरा विवरण सुन्दा त्यहाँ बीआरआई भन्ने शब्दै उच्चारण भएन । नेपालमा खुब हल्ला भएको फ्रेमवर्क सहमतिको पनि त्यहाँ चर्चा भएन । अनि प्रधानमन्त्री केपी ओलीले पोखरा विमानस्थलबारे ठूलो उपलब्धि हुने भनी यहाँ दिएको आश्वासन पनि पूरा भएको देखिएन ।