आर्थिक सङ्कट’ टार्न भारतको साथ खोज्दै माल्दिभ्सका राष्ट्रपति दिल्ली भ्रमणमा

Seeking India's support to avert economic crisis, President of Maldives visits Delhi
माल्दिभ्सका राष्ट्रपति मोहम्मद मुइज्जुले ऋण भुक्तानी गर्न नसक्ने जोखिम बढिरहेका बेला देशभित्र उत्पन्न हुन सक्ने आर्थिक सङ्कट टार्नका लागि यसै साता हुने भारत भ्रमणका क्रममा दिल्लीको सहयोग खोज्ने अपेक्षा गरिएको छ।
अघिल्लो वर्षको अन्त्यमा निर्वाचित मुइज्जुको यो पहिलो औपचारिक भारत भ्रमण हो।
चुनावी अभियानका क्रममा उनले ‘इन्डिया आउट’ अर्थात् ‘भारतको बहिर्गमन’ अभियान चलाउँदै दिल्लीको प्रभाव कम गर्ने वाचा गरेका थिए।
त्यसयता दूई देशबीचको सम्बन्ध चिसिएको छ तर विज्ञहरूले यो भ्रमणले माल्दिभ्सले आफ्नो विशाल छिमेकीलाई उपेक्षा गर्न नसक्ने सङ्केत दिएको विज्ञहरूले टिप्पणी गरिरहेका छन्।
सेप्टेम्बर महिनामा माल्दिभ्सको विदेशी मुद्रा सञ्चिति ४४ करोड डलर (५९ अर्ब ३१ करोड रुपियाँ) रहेको थियो।
त्यसबाट उक्त देशले जम्मा डेढ महिनाका लागि मात्र आयात गर्न सम्भव रहेको हुन्छ।
माल्दिभ्सको भारत नीतिमा ‘यू टर्न’
अघिल्लो महिना एउटा अन्तर्राष्ट्रिय संस्था मुडिज्ले माल्दिभ्सको ऋण भुक्तानी क्षमता अर्थात् ‘क्रेडिट रेटिङ’ खस्केको जनाएको थियो।
उसले माल्दिभ्सले अहिलेको अवस्थामा गर्नुपर्ने भुक्तानी तथा आर्थिक दायित्वहरू बहन गर्न नसक्ने जोखिम बढेको औँल्याएको थियो।
भारतको आर्थिक सहयोगले माल्दिभ्सको विदेशी मुद्रा सञ्चितिलाई बलियो बनाउँदै देशलाई टाट पल्टनबाट जोगाउन सक्छ।
भारत भ्रमण गर्नुअघि मुइज्जुले टर्की र चीनको भ्रमण गर्ने निर्णय लिएका थिए।
उनले गत ज्यानुअरीमा गरेको चीनको भ्रमणलाई उच्चस्तरको कूटनीतिक धक्का मानिएको थियो।
विगतमा सत्तामा निर्वाचित भएपछि माल्दिभ्सका नेताहरूले सबैभन्दा पहिले दिल्लीको भ्रमण गर्ने गर्थे।
त्यसै बेला माल्दिभ्सका तीन अधिकारीहरूले प्रधानमन्त्री नरेन्द्र मोदीकाबारेमा अपमानजनक टिप्पणी गरेपछि भारतमा ठूलो विवाद भएको थियो।
युनिभर्सिटी अफ वेस्टर्न अस्ट्रेलियामा प्राध्यापन गर्ने माल्दिभ्सका एकजना विश्लेषक अजिम जहिर भन्छन्, “राष्ट्रपति मुइज्जुको भ्रमण कैयौँ हिसाबले पुरानै दिशातर्फको फिर्ती हो।”
“सबैभन्दा महत्त्वपूर्ण कुरा, यो माल्दिभ्स भारतमा कति निर्भर छ भन्ने कुरा आत्मसात गरिएको भ्रमण हो। यस्तो निर्भरता जो कुनै अन्य देशले परिपूर्ति गर्न सक्दैन।”