नेपालको अद्यावधिक नक्सा देखिने नोट चीनमा छापिनु संयोग कि स्वाभाविक

0
Nepal's New Currency Notes with Revised Map Being Printed in China2- The Nepal Times

Nepal's New Currency Notes with Revised Map Being Printed in China

भारतसँग विवादित लिपुलेक, लिम्पियाधुरा र कालापानी क्षेत्रको भूमि समेटिएको नेपालको नयाँ नक्सा अङ्कित नोट चीनमा छाप्नका लागि सम्झौता गर्ने अन्तिम प्रक्रिया सुरु भएको नेपाल राष्ट्र ब्याङ्कका अधिकारीहरूले बताएका छन्।

अन्तर्राष्ट्रिय बोलकबोलबाट छनोट भएको ‘चाइना ब्याङ्कनोट प्रिन्टिङ एन्ड मिन्टिङ कर्पोरेशन’सँग छपाइको सम्झौता गर्न नेपाल राष्ट्र ब्याङ्कले सूचना जारी गरेको छ।

कुनै दाबी वा विरोध नपरेको अवस्थामा अबको एक वर्षसम्म नेपालको पछिल्लो नक्सा अङ्कित १०० रुपैयाँ दरका नयाँ नोट चीनमा छापिएर आउने अधिकारीहरूले बताएका छन्।

भारतले असन्तुष्टि व्यक्त गरेको उक्त नोटको छपाइ चीनमा गर्ने निर्णय भूराजनीतिक विषय नभई नियमित प्रक्रिया भएको राष्ट्र ब्याङ्कका प्रवक्ता रामु पौडेलले बताए।

“देशभन्दा पनि कम्पनीका आधारमा छपाइको ठेक्का दिइने हो। जसको योग्यता पुग्छ, जसले बोलकबोलमा प्रतिस्पर्धात्मक प्रस्ताव गर्छ, गुणस्तर कायम गर्छ त्यही कम्पनी छानिने हो। देशसँग यहाँ सरोकार छैन,” प्रवक्ता पौडेलले भने।

“यसमा के बुझ्नुपर्‍यो भने यसमा नक्सा र छिमेकी देशहरू भन्ने कुनै कुरै हुँदैन। हामीले मापदण्डका आधारमा योग्य कम्पनी छान्ने हो।”

सार्वजनिक खरिद कानुनअनुसार महँगोमा अर्को प्रतिस्पर्धीसँग वस्तु वा सेवा लिन नपाइने नियमका कारण प्रतिस्पर्धी मूल्यकै आधारमा चीनको कम्पनी छानिएको राष्ट्र ब्याङ्कका प्रवक्ताको दाबी छ।

चीनमा छापिए पनि ती नोटहरू भारतकै बाटो हुँदै नेपाल आइपुग्ने उनले बताए। चीनमा छापिने नेपाली नोटहरू भारतको कोलकाता बन्दरगाह हुँदै सडक मार्गबाट नेपाल ल्याउने गरिएको छ।

नेपालले अधिकांश नोटहरू चीनमा छपाइ गर्दै आएको छ। रु १०० दरका नोट भने यसअघि यूकेमा छापिए पनि सन् २०१६ मा एक पटक चाहिँ चीनमा छापिएको राष्ट्र ब्याङ्कले जनाएको छ।

नेपालमा सेक्युरिटी प्रिन्टिङ नभएका कारण सबै नोटहरू अन्तर्राष्ट्रिय टेन्डरबाट विदेशमा नै छापिने राष्ट्र ब्याङ्कका प्रवक्ता पौडेलले जानकारी दिए।

Nepal's New Currency Notes with Revised Map Being Printed in China2- The Nepal Times
Nepal’s New Currency Notes with Revised Map Being Printed in China

एउटा नोट छाप्न कति लागत?

आर्थिक वर्ष २०७८/७९ मा १०० रुपैयाँ दरका १६ करोड थान नोट छपाइ भएर ब्याङ्कको ढुकुटीमा दाखिला भएको केन्द्रीय ब्याङ्कको एउटा प्रतिवेदनमा उल्लेख गरिएको छ।

यो पटक नेपालले रु १०० दरका ३० करोड थान नोट छपाइका लागि ठेक्का आह्वान गरेको थियो। तीस अर्ब रुपैयाँ मूल्यका ३० करोडवटा नोट छाप्न ८९ लाख ९६ हजार ५२९ अमेरिकी डलर अर्थात् एक अर्ब २१ करोड २६ लाख नेपाली रुपैयाँ बराबर लागतमा ठेक्का सम्झौता गर्न चिनियाँ कम्पनीलाई आह्वान गर्दै राष्ट्र ब्याङ्कले सूचना प्रकाशित गरेको छ।

त्यसअनुसार एउटा नोटको छपाइ मूल्य चार रुपैयाँ चार पैसा हुन आउने राष्ट्र ब्याङ्कका अधिकारीहरू बताउँछन्।

नेपालमा पाँच रुपैयाँ देखि १,००० रुपैयाँसम्म सात दरका नोटहरू प्रचलनमा छन्। त्यसबाहेक एक र दुई रुपैयाँका सिक्काहरू प्रचलनमा छन्।

एक र दुई रुपैयाँको सिक्कामा भने नेपालले विसं २०७७ बाटै कालापानी क्षेत्र स्पष्टसँग देखिने गरी चुच्चो भाग भएको नयाँ नक्सा छाप्दै आएको छ। एक र दुई दुवै दरका सिक्काहरू यसअघि पोलन्डमा छापिएका थिए।

युरोपमा छापिने एक रुपैयाँको सिक्का पनि भारतको बाटो हुँदै नेपाल आउँछ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *