बीआरआईमा ऋण नलिने कांग्रेसको निर्णय हो : मन्त्री लेखक

Nepali Congress decision not to take loan For BRI Minister Lekhak
बीआरआईमा अनुदान लिने तर ऋणका रुपमा भने स्वीकार नगर्ने कांग्रेसको औपचारिक निर्णय रहेको गृहमन्त्री रमेश लेखकले प्रष्ट पारेका छन् ।
बिहीबार धनगढीमा आयोजित पत्रकार भेटघाटमा गृहमन्त्री लेखकले बीआरआई अन्तर्गतका परियोजनाका लागि सहयोग लिने सम्बन्धमा कांग्रेस र एमालेका फरक फरक मान्यताहरु देखिएका भएपनि दुवै दलबीच हुने समझदारीका आधारमा अघि बढ्ने बताए । ‘कांग्रेसले त ऋणका रुपमा नलिने भनेर यसअघि नै निर्णय गरिसकेका छ । एमालेले पनि ऋणका रुपमा भएपनि लिनुपर्छ नै त भनेको छैन,’ मन्त्री लेखकले भने, ‘दुवै दलबीच छलफल चलिरहेको छ । हामी साझा धारणा निर्माण गर्छौ| ।’
मन्त्री हेरफेरको चर्चाबारे गरिएको प्रश्नमा गृहमन्त्री लेखकले मन्त्रिपरिषद्मा हेरफेरको कुरा आजसम्म नचलेको जिकिर गरे । ‘हामी प्रधानमन्त्रीय प्रणालीमा छौं । प्रधानमन्त्रीले जुनसुकै बेला मन्त्री हेरफेर गर्न सक्ने कुरा हुन्छ । तर आजको समयसम्म त्यसबारे कुनै कुरा उठेको छैन ।’
मन्त्री लेखकले गृह जिल्ला कञ्चनपुरमै भएको निर्मला पन्त बलात्कार तथा हत्याको अनुसन्धान जारी रहेको बताए । ०८४ को निर्वाचनसम्म कांग्रेस एमालेको वर्तमान गठबन्धन कायम रहनेमा कुनै शंका नरहेको बताए ।