प्रधानमन्त्री ओलीले दिए भारतलाई स्वतन्त्रता दिवसको बधाई : काठमाडौंमा पनि मनाइयो स्वतन्त्रता दिवस

Nepalese PM KP-Sharma-Oli calls up Modi; greets people of India on Independence Day
प्रधानमन्त्री केपी शर्मा ओलीले छिमेकी राष्ट्र भारतको ७८औं स्वतन्त्रता दिवसको अवसरमा भारतका प्रधानमन्त्री नरेन्द्र मोदीलाई शुभकामना दिएका छन् । प्रधानमन्त्री ओलीले सामाजिक सञ्जालमार्फत भारतीय प्रधानमन्त्री मोदीलाई शुभकामना दिएका हुन् ।
शुभकामना सन्देशमा प्रधानमन्त्री ओलीले भनेका छन्, ‘प्रदानमन्त्री मोदी अनि भारतवासीलाई ७८औं स्वतन्त्रता दिवसको हार्दिक बधाई। स्वतन्त्रता दिवसका दिनले हाम्रा राष्ट्रहरू बीचको मित्रता र सहयोगको बन्धनलाई बलियो बनाओस्। नेपाल–भारत सम्बन्धलाई अगाडि बढाउने कामना छ ।’ उल्लेखनीय छ, अगस्ट १५ मा भातमा प्रत्येक वर्ष भारतले स्वतन्त्रता दिवस पालन गर्दछ । यो वर्ष भारतले ७८औँ स्वतन्त्रता दिवस विकसित भारतको नाराका साथ पालन गऱ्यो।
यस अवसरमा काठमाडौंस्थित भारतीय राजदूतावासले भारतको ७८ औं स्वतन्त्रता दिवस मनायो । नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले भारतको राष्ट्रिय झण्डा झण्डोत्तोलन गरेसँगै सो समारोहको शुभारम्भ भएको थियो । तत्पश्चात कार्यक्रममा भारतका राष्ट्रपति द्रौपदी मुर्मुले राष्ट्रका नाममा गरेको सम्बोधन भिडियोमार्फत प्रस्तुत गरिएको थियो ।
उक्त अवसरमा राजदूत श्रीवास्तवले भारतीय सशस्त्र बलका मृतक गोर्खा सैनिकका श्रीमती र निकटतम नातेदारलाई नेरु. ५.५० करोड र कम्बल वितरण गरी सम्मान गरेका थिए । साथै भारतीय सशस्त्र बलका मृतक सैनिकका श्रीमती एवम् १०७ मृतक सदस्यका निकटतम नातेदारहरुका लागि नेरु १२.५५ करोड भुक्तानी दिइएको छ । यस भुक्तानीमा आर्मी ग्रुप इन्स्योरेन्स (एजीआई) कार्यक्रम अन्तर्गत वर्ष २०२४ का लागि डेथ–इन–सर्भिस, एक्सटेन्डेड इन्स्योरेन्स र एजीआई परिपक्वता भुक्तानी लगायतका लाभहरु समावेश छन् । दूतावासले नेपालका पाँच प्रदेशका २१ वटा शैक्षिक संस्था र पुस्तकालयका लागि पुस्तक अनुदानको पनि घोषणा गरेको छ । यस पहलले प्राप्त अनुरोधको प्रत्युत्तरमा दुर्गम क्षेत्रका विद्यार्थीका लागि शैक्षिक सामग्रीमा पहुँच बढाउने लक्ष्य राखेको छ ।
दूतावासका अधिकारी तथा उनीहरुका परिवारका अलावा नेपालमा रहनुभएका भारतीय समुदायका सदस्य तथा भारतका मित्रहरुले भारतको ७८ औं स्वतन्त्रता दिवसको उत्सवमा सहभागीता जनाएका थिए । कार्यक्रममा दूतावासको स्वामी विवेकानन्द साँस्कृतिक केन्द्र र केन्द्रीय विद्यालय, काठमाडौंका शिक्षक तथा विद्यार्थीले देशभक्ति गीत र नृत्य प्रस्तुत गरेका थिए ।