नेपालले भारतबाट गहुँ आयात गर्ने

Nepal Will Import 200,000 metric tonnes of Wheat From India
नेपालले भारतबाट गहुँ आयात गर्ने भएको छ। नेपाल सरकारले भारतबाट दुई लाख मेट्रिक टन गहुँ आयात गर्ने बताएको छ । बजारमा गहुँको माग बढेपछि अनि गहुँको अभाव हुँदा मूल्यवृद्धि भएको निष्कर्ष निकाल्दै उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले गहुँ आयातको प्रक्रिया थालेको जनाएको छ । बजारमा गहुँको अभाव हुने देखिएपछि केही मात्रामा मूल्यवृद्धि भएको भन्ने उपभोक्ताको गुनासो आएपछि सरकारले गहुँ आपूर्तिका लागि पहल थालेको बताइएको छ।
भारत सरकारसँग गहुँको आयातका विषयमा समन्वय भइरहेको उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका प्रवक्ता बाबुराम अधिकारीले जानकारी गराए। मैदा व्यवसायी, चाउचाउ तथा बिस्कुट उत्पादकलगायत व्यवसायीबाट गहुँ, पिठो र मैदा सहज रूपमा आपूर्तिको माग आएपछि गहुँ आयातको पहल थालिएको र यसप्रति भारत सरकार सकारात्मक रहेको अनि सकेसम्म तिहार अघि नै गहुँ आयात गरिइने उनले बताए। मैदा व्यवसायीले गहुँ आयातमा भन्सार शुल्क घटाउन र आपूर्ति सहज गर्न पनि माग गरिरहेका छन् । व्यवसायीलाई चाडपर्वका बेला मूल्य नबढाउन मन्त्रालयले आग्रह गरेको प्रवक्ता अधिकारीले बताए। बजारमा कृत्रिम अभाव सिर्जना गरी मूल्यवृद्धि गरेको पाइएमा अनुगमन गरी कारबाही गरिने मन्त्रालयले चेतावनी दिएको छ।
बजारमा गहुँको अभाव हुन थालेको र गहुँको मूल्यवृद्धि भएकाले मैदाको मूल्य बढाउन बाध्य भए पनि चाडपर्वका बेला मूल्य स्थिर गर्न मैदा उत्पादक संघ सहमत भएको संघका उपाध्यक्ष दिनेश अग्रवालले बताए। नेपालमा गहुँ आपूर्ति गर्दा समस्या हुने गरेकाले उनले सरकारलाई सहज गरिदिन आग्रह गरे। उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले चाडपर्वका बेला अनावश्यक सञ्चय गरी कृत्रिम अभाव सिर्जना गर्ने, अनुचित नाफा लिने र सर्वसाधारण उपभोक्तालाई मर्का पार्ने विषय स्वीकार नहुने भएकाले त्यस्ता क्रियाकलापलाई निरुत्साहन गर्न सरकारले अनुगमनलाई प्रभावकारी बनाउने तथा अनुगमनका क्रममा गलत क्रियाकलाप भएको पाइएमा कानुनबमोजिम कारबाही गरिने बताए।
अर्कोतिर भारतले नेपाललाई गहुँ निर्यात गर्न स्वीकार गरेपछि नै कसलाई कति परिमाणमा आयात गर्न दिइने भन्नेबारे मन्त्रालयले निर्णय लिइनेछ। उल्लेखनीय छ, नेपालमा प्रतिवर्ष लगभग ११ लाख मेट्रिक टन गहुँको माग रहे पनि लगभग ८-९ लाख गहुँ उत्पादन हुने गरेको छ। जसले गर्दा गहुँको अभाव बजारमा बढ्न थाल्छ। यस्तो परिस्थितिमा छिमेकी राष्ट्र भारतबाट गहुँ आयात गर्नुपर्ने स्थिति उत्पन्न हुन्छ। यद्यपि भारतले नेपाललाई भने सहयोग पुऱ्याउँदै आएको छ।