ठोरीमा नयाँ वर्ष मनाउन पुगे भारतीय पर्यटक, ढाका टोपी लगाएर स्वागत

Indian tourists welcomed with Dhaka Topi in Thori to celebrate New Year,
नयाँ वर्ष सन् २०२५ मनाउन आएका भारतीय पर्यटकलाई ठोरीमा स्वागत गरिएको छ ।
मधेश प्रदेशकै मुख्य पर्यटकीय गन्तव्यको रूपमा रहेको पर्साको ठोरी घुम्न आएका भारतीय पर्यटकहरूलाई ढाका टोपी लगाएर स्वागत गरिएको ठोरी गाउँपालिका–२ का अध्यक्ष अमृतकृष्ण सापकोटाले जानकारी दिए । उनका अनुसार बुधबार सबैभन्दा अगाडि ठोरी घुम्न आएका १०० जना भारतीय पर्यटकलाई ढाका टोपी र टिका लगाएर स्वागत गरिएको हो ।
विशेष गरेर नयाँ वर्षका दिन भारतीय पर्यटकहरू ठोरी घुम्न आउने गर्छन् । भारतीय पर्यटकहरूलाई आकर्षण गराउन पनि राष्ट्रिय टोपी दिवसको अवसरमा ढाका टोपी लगाएर स्वागत गरिएको उनले बताए ।
सापकोटाका अनुसार भारतबाट ठोरी प्रवेश गर्ने मुख्यद्वारमा पर्यटकहरूलाई स्वागत गर्न ठोरी गाउँपालिकाको एक टोली नै खटिएको छ ।
नेपाल घुम्न आउने पर्यटकहरूलाई नाकामै ढाका टोपी लगाएर स्वागत गरिँदा पर्यटकहरू उत्साहित बनेको उनले बताए ।
पर्यटकहरूलाई स्वागत गर्न ठोरी नाकामा गाउपालिका उपाध्यक्ष गोकुलीकुमारी रेग्मी, प्रमुख प्रशासकीय अधिकृत धर्मराज थापा, वडाध्यक्षहरू अमृतकृष्ण सापकोटा, शम्भु खड्का, मानबहादुर थिङ, अष्टबहादुर लोप्चनलगायत खटिएका छन् ।
नयाँ वर्ष मनाउन आउने आन्तरिक एवम् भारतीय पर्यटकहरूले ठोरीका पर्यटकीय स्थलहरूमा भरिभराउ हुने गर्दछन् । बस, बलेरो, कार, म्याजिक भ्यान, ट्रयाक्टर, मोटरसाइकलमार्फत विशेष गरेर भारतीय पर्यटकहरु ठोरी आउने गरेका छन् ।
ठोरीको ह्वाइट हिलको काख, राइधारा, अमृतधारा, रानीवनलगायत आसपास क्षेत्रमा आन्तरिक एवम् भारतीय पर्यटकहरू वनभोज तथा घुम्न आउने गर्दछन् ।
भारतको नरकटियागन्ज, बेतिया, मोतिहारी, दिल्ली, बंगलो लगायत सहरहरूबाट भारतीय पर्यटकहरू नयाँ वर्ष मनाउन ठोरी आउने गर्दछन् ।
ठोरीको धार्नीखोला र व्यारेक खोलामा रहेको झोलुङ्गे पुल चढेर आवतजावत गरेर निकै आनन्द लिने गर्दछन् भने ह्वाइट हिल र रेडहिल चढेर पनि नेपाल साँच्चिकै पहाडै पहाडको देश रहेछ भनेर आनन्द लिने गरेको सापकोटाको भनाइ छ ।
बारा, पर्सा, चितवन, रौतहटलगायतका जिल्लाबाट पनि आन्तरिक पर्यटकहरू ठोरी घुम्न आउने गरेको उनले जानकारी दिए ।