भारतले नेपालबाट थप २५१ मेगावाट विद्युत आयात गर्ने

0
India Will Import An Additional 251 MW Of Electricity From Nepal

India Will Import An Additional 251 MW Of Electricity From Nepal

भारतले नेपाललाई २५१ मेगावाट थप बिजुली निर्यात गर्न स्वीकृति दिएको छ। नेपालले पहिलोपटक बिहारमा मध्यकालीन विद्युत बिक्री सम्झौतामार्फत विद्युत निर्यात गर्ने भएको छ । नेपालले द्विपक्षीय सम्झौताबमोजिम भारतका बिहार र हरियाणा राज्यलाई थप २५१ मेगावाट बिजुली निर्यात गर्न स्वीकृति पाएको हो । सीमापार व्यापारका लागि भारतको तोकिएको प्राधिकरणले नेपालका १२ वटा जलविद्युत आयोजनाबाट थप २५१ मेगावाट विद्युत् निर्यात गर्न स्वीकृत गरेको नेपालस्थित भारतीय दूतावासले एक विज्ञप्तिमा जनाएको छ । यससँगै नेपालले २८ आयोजनाबाट ९४१ मेगावाट जलविद्युत निर्यात गर्नेछ । यसअघि नेपालले १६ वटा आयोजनाबाट ६९० मेगावाट विद्युत निर्यात गर्दै आएको थियो ।


भारतको विद्युत् मन्त्रालयअन्तर्गतको केन्द्रीय विद्युत् प्राधिकरणले हरियाणा राज्यलाई थप १२५.८९ र बिहारलाई १२५.०४ मेगावाट मध्यकालीन सम्झौताअनुसार आयात गर्न स्वीकृति दिएको हो । नेपालले उक्त बिजुली कटैया, रक्सौल र रामनगरका १३२ केभी प्रसारण लाइनमार्फत बिहारलाई निर्यात गर्ने प्राधिकरणले जनाएको छ । प्राधिकरणका अनुसार हरियाणा राज्यलाई २ जलविद्युत् आयोजनाबाट उत्पादित थप १२५.८९ मेगावाट बिजुली बिक्री गर्नेछ । प्राधिकरणले यसअघि नै हरियाणा राज्यलाई २६.१९ मेगावाटको दोर्दी खोला र ८३. ४२ मेगावाटको सोलु खोला (दूधकोशी) आयोजनाको गरी १०९.६१ मेगावाट बिजुली बिक्री गरिरहेको छ ।


नेपालमा खपत गरी अतिरिक्त भएको वर्षायामको विद्युत् हरेक वर्ष जुनदेखि अक्टोबरसम्म बिहार र हरियाणालाई बिक्री गरिने प्राधिकरणले जनाएको छ । योसँगै मध्यकालीन सम्झौताबमोजिम भारतका राज्यस्तरका वितरण कम्पनीहरूलाई बिक्री गरिने विद्युत्को परिमाण ३६० मेगावाट पुगेको हो ।


आगामी अक्टोबरसम्म बिक्री गरिने विद्युत्को बिक्री दर प्रतियुनिट ८ रुपैयाँ ७२ पैसा (५.४५ भारु) रहेको प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले बताए । गत वर्ष हरियाणालाई बिक्रीका लागि स्वीकृति दिएको १०९ मेगावाटको प्रतियुनिट दर ८ रुपैयाँ ४० पैसा (५.२५ भारु) थियो । यसमा भारततर्फको प्रसारण लाइन शुल्क, चुहावट, ट्रेडिङ मार्जिनलगायतका सम्पूर्ण कर तथा शुल्कहरू बेहोर्नु नपर्ने प्राधिकरणले जनाएको छ ।


गत आर्थिक वर्षमा आयातभन्दा १३ करोड रुपैयाँ बढीको विद्युत् निर्यात भएको प्राधिकरणले जनाएको छ । गत आर्थिक वर्षदेखि खुद विद्युत् आयातकर्ताबाट नेपाल आफै विद्युत् निर्यातकर्ता बनेको प्राधिकरणको दाबी छ । स्वीकृति पाए पनि बिजुली निर्यात गर्न छिटोमा एक साता र ढिलोमा एक महिना समय लाग्ने प्राधिकरणका प्रवक्ता चन्दनकुमार घोषले बताए । प्राधिकरणले आईएक्सको रियल टाइम मार्केट र डे–अहेड बजारमा १४ वटा आयोजनाको बिजुली बिक्री गर्दै आएको छ ।


सन् २०२१ अक्टोबरमा भारतले पहिलो पटक नेपालबाट भारततर्फ ३९ मेगावाट विद्युत निर्यातका लागि अनुमति दिएको थियो । तीन वर्षभन्दा कम अवधिमा यो आँकडा २४ गुणा भन्दा बढीले बढेको छ । इन्डियन इनर्जी एक्सचेन्जको डे अहेड मार्केटमा बिक्री गरी नेपालले पहिलोपटक ऊर्जा निर्यात सुरु गऱ्यो । त्यसयता भारतले रियल टाइम मार्केटमा समेत पहुँच प्रदान गरेको छ । नेपाल विद्युत प्राधिकरणले हरियाणा र बिहारका डिस्कमसँग मध्यकालीन विद्युत बिक्री सम्झौता पनि गरेको छ ।


भारतले भारतका खरिदकर्ताहरुका लागि जलविद्युत खरिद दायित्व (एचपीओ) को एक हिस्साको रुपमा नेपालबाट हुने जलविद्युत आयात गणना गर्ने प्रावधान पनि खोलेको छ जसले खरिदकर्ताहरुलाई नेपालबाट विद्युत खरिद गर्न प्रोत्साहित गर्ने भारतको विश्वास छ । नेपाल र भारतबीचको दीर्घकालीन ऊर्जा सम्झौताले आगामी १० वर्षमा नेपालबाट भारतलाई १० हजार मेगावाटसम्म विद्युत् बिक्री गर्ने परिकल्पना गरेको छ ।


यो सम्झौताको पहिलो वर्ष हो र झण्डै एक हजार मेगावाट निर्यात भइसकेको छ । यी गतिविधिसँगै नेपाल दक्षिण एसिया क्षेत्रकै प्रमुख जलविद्युत निर्यातकर्ता बन्ने बाटोमा छ । बंगलादेशलाई ४० मेगावाट विद्युत बिक्री गर्ने सम्झौता टुङ्गो लागी मिति २०८१ श्रावण १३ गते हस्ताक्षर गर्ने योजना थियो तथापि बंगलादेशको पछिल्लो राजनीतिक घटनाक्रमका कारण सो स्थगित भयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *