परराष्ट्रमन्त्री देउवाको प्रधानमन्त्री मोदीसँग भेट : मोदीलाई दिइन् नेपाल आउने निम्तो

Meeting between the Foreign Ministers of Nepal and India Agreement to continue various projects
परराष्ट्रमन्त्री आरजु देउवा राणा पाँच दिवसीय भारत भ्रमणमा रहेकी छन्। उनले भारतका प्रधानमन्त्री नरेन्द्र मोदीसँग भेट्रवार्ता गरिन् । यस भेटघाटमा नेपाल भारत सम्बन्ध थप बल पुग्ने गरि नयाँ सम्झौता बारेमा चर्चा भएको थियो। यस भेटवार्ताका क्रममा नेपाल भारत सम्बन्ध र यसको बहुआयामिक विविधताका विषयमा कुराकानी गर्नु भएको छ ।
भारतीय विदेश मन्त्रालयले प्रधानमन्त्री नरेन्द्र मोदी र परराष्ट्रमन्त्री आरजु राणा देउवाबीच भेटवार्तामा आपसी हितका विविध क्षेत्रमा भारत–नेपाल सहकार्यलाई थप सुदृढ बनाउनेबारे छलफल भएको जनाएको छ।
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेपालसँग विकासको साझेदारीमा निरन्तर गति दिनका लागि तत्पर रहेको बताएका छन्। परराष्ट्रमन्त्री आरजु राणा देउवासँग सोमबार साँझ भएको भेटपछि प्रधानमन्त्री मोदीले यस्तो बताएका छन्। उनले भारत र नेपालबीच सभ्यताको घनिष्ठ सम्बन्ध रहेको समेत उल्लेख गरेका छन्। प्रधानमन्त्री मोदीले सामाजिक सञ्जाल एक्समा लेखेका छन्,‘भारत र नेपालबीच घनिष्ठ सभ्यताको सम्बन्ध र प्रगतिशील तथा बहुआयामिक साझेदारी छ। हाम्रो विकास साझेदारीमा निरन्तर गतिका लागि तत्पर छौँ।’ परराष्ट्रमन्त्री राणालाई स्वागत गर्न पाउँदा आफूलाई खुशी लागेको मोदीले उल्लेख गरेका छन्।
यसैबीच भारत भ्रमणमा रहेकी मन्त्री राणाले भेटमा नेपाल–भारतबीच विविध विषयमा सहकार्यमा जोड दिनुका साथै मोदीलाई नेपाल भ्रमणको निम्तोसमेत दिएकी छन् । मन्त्री राणाले सामाजिक सञ्जाल एक्समा आफू र मोदीले नेपाल–भारत सम्बन्धको बहुआयामिक विविधताबारे छलफल गरेको उल्लेख गरेकी छन् ।
‘मलाई आशा छ, यो भ्रमण र हाम्रा उच्चस्तरीय भेटघाटले दुई देशबीचको ऐतिहासिक सम्बन्धलाई नयाँ उचाइमा पुर्याउनेछ,’ उनले लेखेकी छन् । प्रधानमन्त्री केपी शर्मा ओलीले पठाएको नेपाल भ्रमणको निम्तोपत्र मोदीलाई हस्तान्तरण गरेको पनि उनले बताएकी छन् ।