बीआरआईबारे साझा धारणा बनाउने प्रयासमा कांग्रेस

0
Congress in an effort to form a common vision on BRI

Congress in an effort to form a common vision on BRI

 प्रधानमन्त्री केपी शर्मा ओलीको चीन भ्रमणको मिति नजिकिँदै गर्दा मुख्य सत्ता घटक कांग्रेस बीआरआईका विषयमा पार्टीभित्रै साझा मत बनाउने प्रयासमा जुटेको छ । प्रधानमन्त्रीको चीन भ्रमणअगावै सत्ता साझेदार एमालेसँग साझा धारणा तय गर्नुपर्ने भएकाले कांग्रेस पहिले आन्तरिक रूपमा मतैक्य कायम गर्ने गृहकार्यमा लागेको हो । 

औपचारिक घोषणा नगरिए पनि मंसिर १७ देखि प्रधानमन्त्री ओलीको चीन भ्रमण हुने गरी सरकारले गृहकार्य गरिरहेको छ । यही भ्रमणका अवसरमा बीआरआई कार्यान्वयन योजना सम्झौतामा नेपाललाई हस्ताक्षर गराउन चीनले चाहिरहेको छ । तर यहाँका सत्तारूढ दलहरूबीच नै बीआरआई कार्यान्वयन योजना सम्झौताका विषयमा मत मिल्न सकेको छैन । प्रधानमन्त्री एवं एमाले अध्यक्ष ओली मुलुकको आर्थिक अवस्था हेरेर चीनबाट अनुदान मात्रै लिने सवालमा सहमत भए पनि बीआरआई कार्यान्वयन योजना सम्झौता गर्नुपर्ने पक्षमा छन् । कांग्रेसका नेताहरूबाट भने बेग्लाबेग्लै राय आइरहेको छ ।

कांग्रेसका कतिपय नेताले देशको स्वार्थलाई केन्द्रमा राखेर सम्झौतामा हस्ताक्षर गर्दा फरक नपर्ने मत राखिरहेका छन् भने कतिपयले भूराजनीतिक अवस्थिति हेरेर अहिले यसमा प्रवेश नै गर्न नहुने तर्क गरिरहेका छन् । त्यसैले पार्टी सभापति शेरबहादुर देउवाले गठबन्धनको भविष्य र भूराजनीतिक चासोसमेतलाई दृष्टिगत गरेर बीआरआईका विषयमा पार्टीभित्र साझा धारणा बनाउने प्रयास गरिरहेका हुन् ।

देउवाले बुढानीलकण्ठस्थित निवासमा शनिबार पार्टीका शीर्ष नेताहरूसँग यस विषयमा छलफल गरेका थिए । उनले शुक्रबार विभिन्न विज्ञहरूसँग परामर्श गरेका थिए । शनिबारको छलफलमा उपसभापति पूर्णबहादुर खड्का, महामन्त्री गगन थापा, नेता कृष्णप्रसाद सिटौला, गृहमन्त्री रमेश लेखकसहितका नेताहरू उपस्थित थिए । कांग्रेसका एक पदाधिकारीका अनुसार प्रधानमन्त्री ओलीको चाहनाविपरीत जाँदा गठबन्धन नै तलमाथि पर्ने हो कि भन्ने भय देउवामा देखिएको छ भने अर्कातर्फ बीआरआई कार्यान्वयनसम्बन्धी सम्झौताले भूराजनीतिक जटिलता उत्पन्न गराउने आशंका पनि छ ।

परराष्ट्रमन्त्री आरजु राणा देउवाले प्रधानमन्त्रीको चीन भ्रमणले गठबन्धनमा कुनै असर नपर्ने दाबी गरिन् । छिमेकी देशहरूलाई सन्तुलनमा लिएर जाने सरकारको नीति रहेको र त्यसअनुसार नै चीन भ्रमणको तयारी भइरहेको उनको भनाइ छ । ‘प्रधानमन्त्रीको चीन भ्रमणमा जे हुन्छ, त्यो कांग्रेस र एमालेबीचको साझा धारणामा आधारित रहेर नै हुन्छ, तलमाथि हुँदैन,’ कान्तिपुरसँग राणाले भनिन्, ‘बीआरआईअन्तर्गत ऋण लिने कि अनुदान भन्ने प्रश्नमा हामी प्रस्ट छौं, अहिले मुलुक ऋण लिने अवस्थामा छैन । केही समयअघि भारतले दिने भनिएको ऋण पनि लिएका छैनौं । यसबारेमा प्रधानमन्त्री र अर्थमन्त्री पनि जानकार हुनुहुन्छ ।’ प्रधानमन्त्री ओलीले शुक्रबार एमालेको जागरण सभालाई सम्बोधन गर्ने क्रममा पनि ऋण नलिने बताएका थिए ।

‘चीनको भ्रमण सफल रहनेछ । चीनबाट फर्केपछि कसरी सफल भयो, यसै पनि थाहा पाउनुहुनेछ । म आफैं पनि सम्प्रेषण गर्नेछु । यत्तिकै यसो घुमेर आउन भनेर चीन जान लागेको होइन, देशको हित र भलाईका लागि जान लागेको हो,’ उनले भनेका थिए, ‘सकेसम्म कतैको पनि ऋण लिन चाहँदैनौं, अहिले हाम्रो ऋण लिने, ऋण थुपार्ने अवस्था छैन ।’

एमालेका एक नेताका अनुसार चीन सरकारले पठाएको सम्झौताको मस्यौदामा केही अपरिभाषित विषय र सन्दर्भ रहेकाले त्यसलाई थप प्रस्ट पारेर हस्ताक्षर गर्न सकिन्छ कि भन्ने विषयमा कांग्रेस र एमालेबीच छलफल चलिरहेको छ । ‘कुनै न कुनै रूपमा बीचको बाटोबाट समाधान खोज्ने प्रयास जारी छ । कांग्रेसलाई कसरी विश्वासमा लिन सकिन्छ भनेर प्रधानमन्त्रीले आफ्नो ढंगले छलफल गरिरहनुभएको छ,’ ती नेताले भने, ‘केही विज्ञसहित दुवै दलका कार्यदलबीच पनि छलफल भइरहेको छ ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *