भारतद्वारा नेपाललाई बाढी राहत सामग्रीको पहिलो खेप हस्तान्तरण

राजधानी काठमाडौंस्थित भारतीय दूतावासले बाढी प्रभावित नेपालमा अधिकारीहरूलाई स्लीपिङ ब्याग, कम्बल र तारपालसहितको आपतकालीन राहत सामग्रीको पहिलो खेप हस्तान्तरण गरेको छ नेपालमा भर्खरै आएको बाढीबाट प्रभावित परिवारका लागि सोमबार ४ दशमलव २ टन सहायता सामग्री नेपाललाई हस्तान्तरण गरिएको भारतीय दूतावासले विज्ञप्तिमार्फत जनाएको छ । गत केही दिनसम्म परेको अविरल वर्षाले व्यापक बाढी र पहिरोको कारण देशमा २ सय ४० भन्दा बढी मानिसको मृत्यु भएको छ र धेरै अझै बेपत्ता छन्।
भारतबाट नेपालगञ्ज ल्याइएको उक्त खेप भारत सरकारको तर्फबाट बाँकेका प्रमुख जिल्ला अधिकारी खगेन्द्रप्रसाद रिजाललाई द्वितीय सचिव नारायण सिंहले हस्तान्तरण गरेका हुन् । यसमा तिरपाल, स्लिपिङ ब्याग, कम्बल, क्लोरीन ट्याब्लेट र पानीका बोतलहरू थिए। विज्ञप्तिमा भनिएको छ, “भारत सरकारले अन्य राहत सामग्रीका साथसाथै अत्यावश्यक वस्तु र औषधिको पनि व्यवस्था गरिरहेको छ, जुन छिट्टै डेलिभरी गरिनेछ।”
भारतीय दूतावासले सोमबार नेपाली अधिकारीलाई उक्त सामग्री हस्तान्तरण गर्दै हालै आएको बाढीका कारण घरबारविहीन भएका र जनजीवन पूर्ण रुपमा अस्तव्यस्त भएका परिवारका लागि यो सहयोग रहेको जनाएको छ ।
भारत आफ्नो छिमेकी र अन्यत्र संकटको समय सहयोग गर्ने पहिलो देश भएको छ। सन् २०१५ को नेपालको भूकम्पप्रति प्रतिक्रिया जनाउने र विदेशमा सबैभन्दा ठूलो विपद् राहत अभियान सञ्चालन गर्ने पहिलो देश भारत थियो – भारतले त्यतिबेला पनि अपरेशन मैत्री चलाएको थियो। सन् २०२३ नोभेम्बरमा गएको जाजरकोट भूकम्पपछि भारतले आफ्नो छिमेकी राष्ट्र नेपाललाई सहयोग र राहत सामग्री पठाएको थियो ।
भारतले बाढीपीडितलाई पठाएको यो सहायता सामग्रीले आश्रय र आधारभूत सुविधा चाहिने पीडित परिवारलाई तत्काल राहत उपलब्ध गराउने बताइएको छ । भारतीय दूतावासले नेपालको अवस्थाको अनुगमन भइरहेको र आगामी दिनमा थप सहयोग गरिने पनि जानकारी दिएको छ ।
नेपालमा आएको यो विपद्ले भारत र नेपालबीचको बलियो मित्रता र सहयोगलाई फेरि एकपटक देखाएको छ, जहाँ भारत फेरि एकपल्ट आफ्नो छिमेकी राष्ट्रलाई अप्ठ्यारो समयमा सहयोग गर्न अगाडि आएको छ ।