नेपाली कूटनीतिज्ञसहित २६ जना भारत भ्रमणमा जाँदै

0
26 people including Nepalese diplomats are going on a visit to India- The Nepal Times

26 people including Nepalese diplomats are going on a visit to India- The Nepal Times

नेपाल सरकारका १० प्रमुख मन्त्रालय र विभागका २६ जना नेपाली कूटनीतिज्ञ तथा अधिकारीको समूहले मङ्सिर ५ देखि १५ गतेसम्म भारतको भ्रमण गर्ने भएको छ । 

नयाँ दिल्लीस्थित भारतीय विदेश मन्त्रालयको सुषमा स्वराज विदेश सेवा संस्थानमा नेपाली कूटनीतिज्ञ तथा अधिकारीका लागि राखिएको पहिलो विशेष प्रशिक्षण कार्यक्रममा सहभागी हुन उनीहरू भारत जान लागेका हुन् । 

नेपाली कूटनीतिज्ञ तथा अधिकारीहरूको टोलीमा परराष्ट्र मन्त्रालय, अर्थ मन्त्रालय, उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय, कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालय, सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय, सहरी विकास मन्त्रालय, कृषि तथा पशुपन्छी विकास मन्त्रालय, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय तथा रेल विभागका प्रतिनिधिहरू रहेका छन् । 

प्रशिक्षण कार्यक्रममा वैश्विक राजनीतिक तथा आर्थिक सान्दर्भिकता, व्यापार तथा कनेक्टिभिटी, जलवायु परिवर्तन तथा मानवीय सहायता, विकास साझेदारी, साझा संस्कृति र सम्पदा विषयमा मोड्युलहरु राखिनुका साथै नयाँ दिल्ली बाहिरका पर्यटकीय तथा ऐतिहासिक दृष्टिकोणले महत्त्वपूर्ण सहर र ठाउँको भ्रमण समावेश रहेको नेपालस्थित भारतीय दूतावासले जनाएको छ । 

काठमाडौँस्थित भारतीय राजदूतावासका नियोग उप–प्रमुख प्रसन्न श्रीवास्तवले मंगलबार २६ जना नेपाली कूटनीतिज्ञ तथा अधिकारीसँग उनीहरू भारत जानुअघि अन्तरक्रिया  गरेका थिए । सो क्रममा उनले सबैलाई उपयोगी, फलदायी र आनन्ददायी प्रशिक्षण अनुभवको कामना गरेका थिए । 

नेपाली कूटनीतिज्ञ तथा अधिकारीहरूको भारत भ्रमणले संस्थागत आदानप्रदानलाई निरन्तरता दिनुका साथै नेपाल र भारतबिचको घनिष्ठ र विशिष्ट द्विपक्षीय सम्बन्धलाई थप मजबुत बनाउने दूतावासको भनाइ छ । 

Leave a Reply

Your email address will not be published. Required fields are marked *